ऋणपत्रमा किन बढ्दै छ लगानीकर्ताको आकर्षण? यस्तो छ कारण
काठमाडौं, ३० असार । सोमबार पुँजी बजारमा कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसमध्ये ३ अर्ब ४३ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो। बाँकी कारोबार ऋणपत्र र सामूहिक लगानी कोषका इकाइमा केन्द्रित रह्यो।
पछिल्ला केही दिनदेखि जस्तै सोमबार पनि सबैभन्दा धेरै कारोबार भएका शीर्ष १० मध्ये ९ वटा ऋणपत्र परेका छन्। यसले बजारमा ऋणपत्रप्रतिको आकर्षण उल्लेख्य रूपमा बढिरहेको देखाउँछ।
ऋणपत्र भनेको के हो?
ऋणपत्र कुनै कम्पनी, बैंक वा सरकारी निकायले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट निश्चित अवधिका लागि ऋण उठाउन जारी गर्ने वित्तीय साधन हो। यसमा लगानी गर्ने व्यक्तिले सम्बन्धित संस्थालाई ऋण दिएको मानिन्छ।
ऋणपत्र खरिद गर्ने लगानीकर्ताले तोकिएको अवधिसम्म निश्चित ब्याज प्राप्त गर्छन्। अवधि पूरा भएपछि संस्थाले मूलधन फिर्ता गर्छ।
सरकारले पनि विकास ऋणपत्र, कोषागार बिल तथा वैदेशिक रोजगार बचतपत्रमार्फत बजारबाट ऋण उठाउने गर्छ। निजी तथा सार्वजनिक कम्पनीहरूले पनि ऋणपत्र जारी गर्न सक्छन्।
ऋणपत्रका प्रकार
जारी गर्ने संस्थाका आधारमा ऋणपत्र मुख्यतः सरकारी र संस्थागत गरी दुई प्रकारका हुन्छन्।
त्यस्तै, साँवा फिर्ता गर्ने व्यवस्थाका आधारमा फिर्ता हुने र नहुने प्रकृतिका ऋणपत्र हुन्छन्। केही ऋणपत्र निश्चित समयपछि कम्पनीको सेयरमा रूपान्तरण गर्न मिल्ने हुन्छन् भने केहीमा यस्तो सुविधा हुँदैन।
नेपालमा सर्वसाधारणका लागि जारी हुने अधिकांश संस्थागत ऋणपत्र निश्चित ब्याजदर भएका तथा सेयरमा रूपान्तरण गर्न नमिल्ने प्रकृतिका छन्।
सेयरभन्दा कसरी फरक?
सेयरले कम्पनीको स्वामित्व दिने भए पनि ऋणपत्रले स्वामित्व दिँदैन। यसले कम्पनीलाई दिएको ऋणमाथिको अधिकार मात्र दिन्छ।
सेयरमा लाभांश कम्पनीको नाफामा निर्भर हुन्छ। नाफा नभए लाभांश नआउन पनि सक्छ। तर ऋणपत्रमा तोकिएको ब्याज नियमित रूपमा प्राप्त हुन्छ।
यदि कुनै संस्था विघटन हुने अवस्था आयो भने ऋणपत्रधनीले सेयरधनीभन्दा पहिले आफ्नो रकम फिर्ता पाउने प्राथमिकता पाउँछन्।
ऋणपत्रको मूल्यमा हुने उतारचढावले नेप्से परिसूचकमा कुनै असर गर्दैन। नेप्सेमा सेयरको मूल्य परिवर्तन मात्रै समावेश हुन्छ।
किन बढ्यो आकर्षण?
अहिले बैंकहरूको मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर करिब ४.२७ प्रतिशत छ। तर बजारमा कारोबार भइरहेका ऋणपत्रमा ७.५ प्रतिशतदेखि १२ प्रतिशतसम्मको वार्षिक ब्याजदर रहेको छ।
यसैले सुरक्षित र निश्चित आम्दानी खोज्ने लगानीकर्ताको रोजाइ ऋणपत्रतर्फ बढ्दै गएको देखिन्छ।
प्रतिफल कसरी हेर्ने?
ऋणपत्रको तोकिएको ब्याजदर मात्र हेरेर लगानी गर्नु पर्याप्त हुँदैन। बजारमा किनेको मूल्यका आधारमा वास्तविक प्रतिफल फरक हुन सक्छ। यसलाई प्रतिलब्धि दर भनिन्छ।
उदाहरणका लागि, अंकित मूल्य १ हजार रुपैयाँ भएको १०.२५ प्रतिशत ब्याजदरको ऋणपत्र बजारमा १ हजार १६३ रुपैयाँमा खरिद गरियो भने वार्षिक १०२ रुपैयाँ ५० पैसा ब्याज प्राप्त हुन्छ। तर खरिद मूल्यका आधारमा वास्तविक प्रतिफल करिब ८.८१ प्रतिशत मात्रै हुन्छ।
सोमबार सबैभन्दा धेरै कारोबार भएका १५ ऋणपत्रमध्ये कृषि विकास बैंकको ऋणपत्रको प्रतिलब्धि दर सबैभन्दा बढी ९.६१ प्रतिशत रहेको छ।
लगानी गर्दा केमा ध्यान दिने?
ऋणपत्रमा लगानी गर्नु अघि ब्याज भुक्तानीको अवधि, परिपक्व हुने मिति, संस्थाको वित्तीय अवस्था तथा मूलधन फिर्ता गर्ने क्षमता राम्रोसँग अध्ययन गर्न आवश्यक हुन्छ।
कतिपय ऋणपत्रमा ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने भएकाले खरिद गरेको समयअनुसार प्राप्त हुने ब्याज फरक हुन सक्छ। त्यसैले लगानी गर्नु अघि प्रतिलब्धि दर र सम्पूर्ण सर्तको अध्ययन गर्नु उपयुक्त हुन्छ।













प्रतिक्रिया दिनुहोस्