जनता एग्रोको आइपिओ प्रक्रिया अघि बढ्यो, संस्थागत लगानीकर्तालाई ५ करोडको सेयर दिने निर्णय
काठमाडौं, २८ असार । प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानीकर्ताको लगानी प्रस्ताव स्वीकृत गर्दै पुँजी पुनः संरचना गर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिले संस्थापक सेयरतर्फको जगेडा सेयरमा लगानी गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले दुवै कम्पनीलाई प्रतिकित्ता १२५ रुपैयाँका दरले २/२ लाख कित्ता सेयर दिने निर्णय गरेको छ। यससँगै जनता एग्रोमा यी दुई संस्थागत लगानीकर्ताको कुल ५ करोड रुपैयाँ बराबरको लगानी रहनेछ।
२ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको जनता एग्रोले सर्वसाधारणका लागि न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। विशेष साधारणसभाले आइपिओ निष्कासनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ।
कम्पनीले यसअघि २०८२ मंसिरमा सम्पन्न साधारणसभाबाट आइपिओ जारी गर्ने निर्णय गरेको थियो। आइपिओ प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी मापदण्डअनुसार सम्पन्न गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड र क्रेडिट रेटिङका लागि केयर एज रेटिङलाई नियुक्त गरिसकेको छ।
नियमावली संशोधन
विशेष साधारणसभाले कम्पनीको नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। आइपिओ निष्कासन प्रक्रिया, नेपाल धितोपत्र बोर्डका मापदण्ड, नियामकीय व्यवस्था र सुशासनका आवश्यकतालाई ध्यानमा राख्दै नियमावली संशोधन गरिएको कम्पनीले जनाएको छ।
संशोधित व्यवस्थाअनुसार नियमावलीको नियम २७ (३) मा परिवर्तन गरी सञ्चालक समितिमा दुई जना स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।
‘खेतीदेखि बिक्रेतासम्म’ अवधारणामा अघि बढ्ने लक्ष्य
जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले ‘खेतीदेखि बिक्रेतासम्म’ अवधारणालाई आत्मसात् गर्दै कृषि तथा वन पैदावारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणले आइपिओ निष्कासनसँगै कम्पनीको आगामी यात्रा थप सुदृढ र उत्तरदायी हुने विश्वास व्यक्त गरे।
“प्राकृतिक स्रोत र मानव क्षमतालाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै ‘समृद्ध राष्ट्र र सुखी नेपाली’ अभियानमा योगदान पुर्याउने हाम्रो उद्देश्य हो,” उनले भने।
उनले तोकिएको मापदण्डअनुसार बाली तथा फलफूल उत्पादनका लागि किसानसँग करार सम्झौता गर्दै जाने बताए। यसले किसानलाई उत्पादन, लगानी र बजार सुनिश्चितताबारे थप विश्वास दिलाउने उनको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्