नबिल बैंकको ४२औँ वार्षिकोत्सव : एआईमा आधारित बैंकिङ सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा

काठमाडौं, २८ असार । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अघि बढाउने घोषणा गरेको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकले कृत्रिम बौद्धिकता (एआई) मा आधारित बैंकिङ सेवा विस्तार गर्दै भविष्यको वित्तीय प्रणालीको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको हो।

कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको बताए। उनले बैंकले परिवर्तनको प्रतीक्षा नगरी सधैँ परिवर्तनको नेतृत्व गर्दै आएको उल्लेख गरे।

उनले नबिल बैंकले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको सुरुआत गरेको र ‘एनबैंक’ एपमार्फत डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनका अनुसार बैंकले वाणिज्य बैंकिङ, लगानी बैंकिङ, सेयर दलाली, मर्चेन्ट बैंकिङ, पुँजी बजार तथा डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय सेवा प्रणाली विकास गरेको छ।

अध्यक्ष चौधरीले अबको बैंकिङ क्षेत्र कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेको भन्दै नबिल बैंकले एआईलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने बताए। एआईमार्फत कर्जा प्रवाहलाई छिटो, जोखिम व्यवस्थापनलाई प्रभावकारी, ग्राहक सेवामा व्यक्तिगत अनुभव तथा सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने उनको भनाइ थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सन् १९८४ मा सुरु भएको नबिल बैंकको यात्रा लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको योगदानका कारण आजको अवस्थामा पुगेको बताए। उनले नबिल बैंकलाई नेपालको सबैभन्दा विश्वासिलो र भविष्यका लागि तयार बैंक बनाउने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे।

बैंकले देशको आर्थिक विकासमा योगदान पुर्‍याउन कृषि, ऊर्जा, लघु तथा साना उद्योग र पर्यटन क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको जनाएको छ। हाल बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड रुपैयाँ र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

वित्तीय सूचकांकमा समेत बैंकले उल्लेखनीय प्रगति गरेको जनाएको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको बैंकको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

बैंकका अनुसार निक्षेप १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

हाल नबिल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम तथा १८ वटा विस्तारित काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्