विश्वप्रकाश शर्मा: समस्या समाधानको साटो सरकार बल प्रयोग गरेर आवाज दबाउँदैछ

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले नागरिकका समस्या समाधान गर्नुको साटो बल प्रयोग गरेर आवाज दबाउने प्रयास गरेको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शर्माले सुकुमबासी बस्ती हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएको अवस्था तथा गणेश नेपालीको आत्मदाहको घटनाप्रति टिप्पणी गरेका हुन्।

उनले वर्षायाममा विस्थापित गरिएका सुकुमबासीहरू, विशेषगरी बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिक, होल्डिङ सेन्टरमा भोक र रोगको जोखिमबीच कष्टकर जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै सरकारले न्यूनतम मानवीय सहायता समेत उपलब्ध गराउन नसकेको आरोप लगाए।

शर्माले होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको पक्षमा शान्तिपूर्ण रूपमा आवाज उठाउने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले अवस्था थप जटिल बनेको बताए। उनका अनुसार रोजगारीको अभाव, व्यवस्थापकीय कमजोरी र राज्यप्रतिको अविश्वासका कारण युवाहरूमा निराशा बढ्दै गएको छ, जुन सिंगो समाजका लागि चिन्ताको विषय बनेको छ।

उपसभापति शर्माले प्रधानमन्त्री र सम्बन्धित निकायलाई सिंहदरबार र संसद्को सीमाभन्दा बाहिर निस्केर प्रत्यक्ष रूपमा सुकुमबासी र निराश युवाहरूको समस्या बुझ्न आग्रह गरेका छन्।

विगतका प्रतिबद्धता स्मरण गराउँदै उनले ‘कोही पनि भोको रहने छैन’ र ‘कुनै पनि सुकुमबासीले ज्यान गुमाउनुपर्ने अवस्था आउनु हुँदैन’ भन्ने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। सुकुमबासी र युवाको समस्या राजनीतिक विवादको विषय नभई मानवीय तथा राष्ट्रिय संकटका रूपमा लिएर तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्