अमेरिकी आक्रमणपछि इरानको चेतावनी: सहयोग गर्ने खाडी मुलुक पनि निशानामा पर्ने

काठमाडौं, २९ असार । इरानले आफूविरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकहरूलाई प्रत्यक्ष निशाना बनाइने चेतावनी दिएको छ।

बीबीसीका अनुसार अमेरिकाले हालै गरेको आक्रमणपछि सोमबार इरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकालाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न दिने राष्ट्रहरू पनि जवाफी कारबाहीको दायरामा पर्ने जनाएको हो।

सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमै अमेरिकाले सम्झौताका अधिकांश प्रावधानको खुला उल्लंघन गरेको आरोप लगाइएको छ।

विदेश मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनालाई निशाना बनाइएको छ। इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी राष्ट्रहरूको दायित्व आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न नदिनु रहेको उल्लेख गरेको छ।

इरानले आफूविरुद्ध हुने आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने वा सहयोग गर्ने जुनसुकै स्थानलाई आफ्नो सेनाले जवाफी कारबाहीमा निशाना बनाउने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्