नेता बस्नेतद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख सहयोग
काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। नेता बस्नेतले आइतबार मृतक नेपालीको परिवारलाई भेटेर उनकी आमालाई एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेका हुन्।
सहयोग रकम हस्तान्तरण गर्दै नेता बस्नेतले विकट जिल्लामा रहेका नेपालीको परिवार आर्थिक रूपमा कमजोर अवस्थामा रहेकाले तत्काल राहतस्वरूप सहयोग गरेको बताए।
उनले मृतक नेपालीका छोराछोरीको शिक्षाका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। काठमाडौं महानगरपालिकाले सहयोग नगरे मृतकका बच्चालाई स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था आफूले गर्ने बस्नेतले बताए।
बस्नेतले यसअघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित ३०० भन्दा बढी बालबालिकालाई काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाएको दाबी गरे।
सवारी जरिवाना भन्दा सचेतनामा जोड दिनुपर्ने
नेता बस्नेतले सरकारले सवारीसाधनमा लागू गर्ने भनिएको जरिवाना अन्तर्राष्ट्रिय मापदण्ड हेरेर मात्र निर्धारण गर्न नहुने धारणा राखे।
उनले सवारी नियम उल्लंघनमा जरिवाना बढाउनेभन्दा पनि सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए। कम जरिवाना राखेर पनि नागरिकलाई नियम पालना गराउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप
नेता बस्नेतले सरकारले वास्तविक सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न नसकेको आरोप लगाए। उनले सरकार गठन भएको छोटो अवधिमै प्रणाली सुधारभन्दा पनि भत्काउने काममा लागेको टिप्पणी गरे।
उनले सरकार सय दिनमा जनमुखी कामभन्दा प्रतिशोध साध्ने गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाउँदै नागरिकका समस्या समाधानमा ध्यान दिनुपर्ने बताए।













प्रतिक्रिया दिनुहोस्