माछाका भुरा वितरणमा भ्रष्टाचार आरोप, कृषि कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूमाथि ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरणका लागि विनियोजित बजेटमा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार अनुसन्धानका क्रममा माछाका भुरा खरिद नै नगरी नक्कली बिल तयार गरी सरकारी रकम भुक्तानी लिएको तथा भुरा प्राप्त नगरेका कृषकहरूको नक्कली नाम, ठेगाना र भर्पाई बनाएर रकम हिनामिना गरेको पाइएको छ।

अख्तियारले उनीहरूबाट बिगो रकम असुल उपर गर्न, साथै भ्रष्टाचारसम्बन्धी कानुनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्