स्टन्टबाजी गर्न होइन, जनताको सेवा गर्न आएको हुँ : गृहमन्त्री गुरुङ

काठमाडौं, २६ असार । गृहमन्त्री सुधन गुरुङले आफू प्रचार वा स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै गृहमन्त्री गुरुङले संसद्मा चर्को स्वरमा बोल्दैमा मात्र जनताको समस्या समाधान नहुने बताए।

“घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५०औँ वर्ष भइसक्यो। अब हामीले हातले गर्नुपर्छ,” उनले भने।

उनले जनताको सेवा भाषणभन्दा व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै आफू जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न आएको दाबी गरे।

“आफ्नो जनताको सेवा गर्ने ठाउँमा गएर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ। मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन। म आफ्नो देशको सेवा गर्न आएको हुँ,” गृहमन्त्री गुरुङले भने।

उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि समस्या समाधानका लागि टोली बनाएर छलफल गरिरहेको जानकारी दिए।

“हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौँ,” उनले भने।

गुरुङले संसद्मा सरकारको आलोचना गर्ने सांसदहरूलाई प्रश्न गर्दै जनताको समस्यामा प्रत्यक्ष उपस्थितिको आवश्यकता औंल्याए।

“म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ,” उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्