रास्वपा नेतृत्वको सरकार बनेपछि ‘विचित्रका घटना’ भइरहेका छन् : राष्ट्रिय सभा सदस्य विश्वकर्मा
काठमाडौं, २६ असार । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनपछि देशमा ‘विचित्रका घटना’ भइरहेको टिप्पणी गरेका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै विश्वकर्माले प्रहरी हिरासतमा मृत्यु हुने घटनादेखि सुकुमवासीका बस्तीमा डोजर चलाउनेसम्मका गतिविधि भइरहेको आरोप लगाए।
“आज देशमा नयाँ सरकार आएपछि विचित्र–विचित्रका घटनाहरू हुन थालेका छन्। कतै हिरासतमै मृत्यु हुन्छ, कतै सुकुमवासीका घरमा डोजर लगाइन्छ,” उनले भने।
मुगुका गणेश नेपालीले गरेको आत्मदाहको घटनातर्फ संकेत गर्दै सांसद विश्वकर्माले सरकारका कारण नागरिकले चरम निराशाको अवस्था भोग्नुपरेको आरोप लगाए।
“एक जना पठाओ व्यवसायीले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएर मर्नुपर्ने अवस्था सिर्जना हुनु सरकारको अत्यन्त निन्दनीय काम हो,” उनले भने।
उनले आत्मदाहको प्रयास गरिरहेका नेपालीलाई बचाउन सुरक्षाकर्मीले प्रभावकारी भूमिका नखेलेको भन्दै आपत्ति जनाए। सुरक्षाकर्मीले घटना रोक्ने प्रयास गर्नुको सट्टा रमिते बनेको उनको आरोप थियो।
“आत्मदाह गरिसकेपछि पक्राउ गर्ने शैलीमा उनलाई गाडीमा राखेर अस्पताल लगियो, तर उनको दुःखद मृत्यु भयो,” विश्वकर्माले भने।
उनले सरकारलाई जनतामाथि दमन नगर्न चेतावनी दिँदै “अति गरे खति हुन्छ” भन्ने भनाइ स्मरण गराए।
“यो सरकारले हेक्का राखोस्,” उनले भने।
विश्वकर्माले सरकारले गरिब, सुकुमवासी, निमुखा, दलित तथा अल्पसंख्यक समुदायमाथि उत्पीडन र दमन गरिरहेको दाबीसमेत गरे।













प्रतिक्रिया दिनुहोस्