प्रधानमन्त्रीको अभिव्यक्तिमा किन मौन ? सभामुखमाथि एमाले नेता गैरेको प्रश्न

काठमाडौं, २६ असार । नेकपा (एमाले) का नेता ठाकुरप्रसाद गैरेले संसदमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमाथि सभामुखको मौनताप्रति प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गैरेले एक सांसदले सोधेको प्रश्न संसद, सभामुख र सांसदहरूको मानहानी भएको भन्दै रेकर्डबाट हटाइएको स्मरण गराएका छन्। उनले मानहानी भएको ठहर भएपछि उक्त अभिव्यक्ति रेकर्डबाट हटाइनु स्वाभाविक भएको बताएका छन्।

तर, प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिँदा त्यसलाई लिएर सभामुखले कुनै कदम नचालेको भन्दै उनले आपत्ति जनाएका छन्।

गैरेले प्रधानमन्त्रीको उक्त भनाइले देश, जनता र संसदको गरिमामाथि नै प्रश्न उठाएको दाबी गर्दै त्यसबारे प्रधानमन्त्रीसँग जवाफ माग्न र विवादास्पद अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिनुपर्ने बताएका छन्।

उनले राष्ट्रियता र संसदको मर्यादासँग जोडिएको विषयमा सभामुख मौन रहनु न्यायोचित नभएको टिप्पणी गर्दै संसदमा सबैका लागि समान मापदण्ड लागू हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्