राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्न विधेयक प्रतिनिधिसभामा

काठमाडौं। , २५ असार । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्था कायम गर्न नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा पेस गरिएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पेस गरेकी हुन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नै राख्ने गरी नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ संशोधन भइसकेकाले त्यसअनुसार कानुनी व्यवस्था मिलाउन विधेयक ल्याइएको बताइन्।

उनले राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक तथा बाह्य सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्लेषण र समन्वयात्मक भूमिका निर्वाह गर्ने भएकाले नेपालको राष्ट्रिय सुरक्षा सुदृढ बनाउन विभाग प्रधानमन्त्री कार्यालय मातहत रहनु आवश्यक रहेको स्पष्ट पारिन्।

“नेपालको आन्तरिक तथा बाह्य सूचनाको प्रभावकारी विश्लेषण तथा राष्ट्रिय सुरक्षा कायम राख्न राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नै राख्नुपर्ने भएकाले यो विधेयक पेस गरिएको हो,” मन्त्री गौतमले भनिन्।

यसैगरी, सोमबारकै प्रतिनिधिसभा बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्