स्पष्ट प्राथमिकताबिनै संविधान संशोधन अघि बढाउन खोजियो : गगन थापा

काठमाडौं। , २५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र समाधान गर्नुपर्ने समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले संविधान संशोधन प्रक्रिया हचुवाका भरमा अघि बढाउन नहुने बताएका हुन्।

उनले सरकारले गठन गरेको संविधान संशोधन कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न उठाउँदै संशोधनको उद्देश्य नै स्पष्ट नभएको टिप्पणी गरे।

“सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संविधान संशोधन गर्न खोजेको हो भन्ने स्पष्ट छैन,” उनले भने, “समग्र संविधानलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानुनी जटिलता सिर्जना हुनुका साथै दलीय ध्रुवीकरण बढ्न सक्छ।”

थापाले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्व र त्यसक्रममा हजारौं नागरिकले गरेको बलिदानलाई बेवास्ता गरेर संशोधनको बहसमा प्रवेश गर्न नहुने बताए।

“नेपाल कुन राजनीतिक द्वन्द्वबाट गुज्रेर यहाँसम्म आइपुग्यो र संविधानसभाले कसरी संविधान बनायो भन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन,” उनले भने।

उनले संविधान संशोधनको मूल उद्देश्य सुशासन र प्रभावकारी सेवा प्रवाह हुनुपर्नेमा जोड दिए। भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक तथा कानुनी संरचनामै पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै उनले सुशासनका मुद्दा ओझेलमा परेको बताए।

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाए। योग्यता र स्वतन्त्रताभन्दा राजनीतिक भागबन्डाको प्रभाव बढ्दै गएको भन्दै उनले प्रधानमन्त्रीको प्रभावबाट मुक्त नेतृत्व आवश्यक रहेको बताए।

“यदि अख्तियारको प्रमुख नै प्रधानमन्त्रीको प्रभाव वा दबाबबाट मुक्त हुन सकेन भने भ्रष्टाचार नियन्त्रणको उद्देश्य पूरा हुन सक्दैन,” उनले भने।

सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता संविधानका आधारभूत विषयमा नेपाली कांग्रेसले कुनै सम्झौता नगर्ने स्पष्ट पारे।

उनले संविधानका मूलभूत सिद्धान्तलाई कमजोर नपारी लोकतन्त्रलाई परिणाममुखी बनाउन, नागरिक अधिकार थप सुनिश्चित गर्न तथा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक संशोधनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्