भदौ २३–२४ घटनाबारे आयोगको सिफारिस सच्याउन ओलीद्वारा मानव अधिकार आयोगमा निवेदन

काठमाडौं। , २५ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै आयोगमा निवेदन दर्ता गराएका छन्।

बिहीबार एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले ओलीको तर्फबाट ललितपुरको पुल्चोकस्थित आयोग कार्यालयमा पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरलाई निवेदन बुझाएका हुन्।

निवेदनमा आयोगको निर्णय नम्बर १७७ अन्तर्गत गरिएको सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै त्यसलाई सच्याउन माग गरिएको छ।

साथै, आयोगसँग यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनहरूको पूर्ण प्रतिलिपि उपलब्ध नगराइएको उल्लेख गर्दै भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

निवेदनमा समितिको प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको, त्यसका आधार र कारणसम्बन्धी सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरिएको छ।

त्यसैगरी, आयोगले उक्त घटनाबारे थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य सबै कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमार्फत अनुरोध गरिएको एमाले नेता बर्तौलाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्