वर्षापछि इलाममा सडक अवरुद्ध, आपूर्ति सहज बनाउन सांसद नेम्वाङको सरकारको ध्यानाकर्षण

काठमाडौं। , २५ असार । लगातारको वर्षा र विपद्का कारण इलामका विभिन्न क्षेत्रमा सडक सञ्जाल अवरुद्ध भई अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या भएपछि इलाम–२ का सांसद सुहाङ नेम्वाङले सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद नेम्वाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मेची राजमार्गको माइखोला सडक खण्ड, झापा–इलाम फास्ट ट्र्याकअन्तर्गत बेलासे सडक खण्ड, सिमलगोला सडक खण्ड तथा गजुरमुखीदेखि देउमाई जाने पक्की पुल क्षतिग्रस्त हुँदा आवागमन र आपूर्तिमा परेको असरबारे जानकारी गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन्।

उनका अनुसार सडक अवरुद्ध हुँदा एम्बुलेन्स सेवा, खाद्यान्न, खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित भएको छ।

नेम्वाङले प्रधानमन्त्रीको सचिवालयसँग छलफलपछि सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक काम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार सडक सञ्चालनमा ल्याउने, वैकल्पिक मार्गको व्यवस्था गर्ने तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने विषयमा समन्वय भइरहेको छ।

सांसद नेम्वाङले प्रधानमन्त्रीको सचिवालयबाट तत्काल प्रतिक्रिया आएको र समस्या समाधानका लागि निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै कठिन परिस्थितिमा धैर्य गर्न जिल्लावासीसँग आग्रह गरेका छन्। साथै, आफू इलामवासीको समस्या समाधानका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्