सिरहामा धान प्रशोधन अनियमितता, ८ जनाविरुद्ध मुद्दा
काठमाडौं। , २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको जनाएको छ।
आरोपपत्रअनुसार मुद्दा दायर हुनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महत, गाउँपालिकाका इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोजकुमार यादव, सञ्चालक समितिका तत्कालीन सदस्य राजेश्वरप्रसाद सिंह, धान प्रशोधन उद्योग स्थापनाका लागि गठित निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव, कोषाध्यक्ष कविता कुमारी र सचिव रामबाबु यादव रहेका छन्।
आयोगले उनीहरूबाट जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ।
अख्तियारका अनुसार धान प्रशोधन उद्योग स्थापना गर्न नेपाल सरकारबाट प्राप्त बजेट सहकारी संस्थाका पदाधिकारी र अन्य प्रतिवादीको मिलेमतोमा उपभोक्ता समिति गठन गरी फर्जी मूल्यांकन तयार पारेर अनियमित रूपमा भुक्तानी गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानबाट सार्वजनिक रकमको दुरुपयोग भएको निष्कर्ष निकाल्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्