प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा मौनता तोड्न रास्वपालाई राप्रपाको आग्रह
काठमाडौं। , २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे मौनता तोड्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई आग्रह गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितअनुकूल हो वा होइन भन्ने विषयमा रास्वपाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
“म सत्ता पक्षका माननीय सदस्यहरूलाई आग्रहपूर्वक सोध्न चाहन्छु, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईंहरूलाई राष्ट्रहित अनुकूल लाग्दछ? यदि लाग्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि लाग्दैन भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्,” उनले भनिन्।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। त्यसयता विपक्षी दलहरूले उक्त भनाइको तथ्यगत आधार सार्वजनिक गर्न वा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै आएका छन्।
ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपा सांसदहरू निरन्तर मौन रहेको भन्दै त्यसमाथि प्रश्न उठाइन्। राष्ट्रको हितसँग जोडिएको विषयमा सत्ता पक्षको मौनतालाई जनताले कसरी बुझ्ने भन्ने प्रश्न पनि उनले गरिन्।
“राष्ट्रको विषय आउँदा तपाईंहरूको आवाज किन आउँदैन? नेताप्रतिको निष्ठा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितभन्दा माथि कसरी पुग्यो?” उनले भनिन्।
उनले इतिहासले प्रतिपक्षले बोलेका कुरा मात्र नभई सत्ता पक्षले कहिले बोलेको र कहिले मौन बसेको भन्ने विषय पनि मूल्यांकन गर्ने टिप्पणी गरिन्।
“आज तपाईंहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईंहरूलाई पनि कठघरामा उभ्याउनेछ,” ओलीले भनिन्।













प्रतिक्रिया दिनुहोस्