जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले कारबाही हुन्छ? : सांसद सुनार

काठमाडौं। , २५ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि सरकारले कहिले कारबाही गर्छ भन्दै प्रश्न उठाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्यायको माग गरिरहेको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले धेरै आमाहरूले आफ्ना सन्तानको मृत्युको कारण र घटनामा संलग्नमाथि हुने कारबाहीबारे प्रश्न गरिरहेको बताए।

“भदौ २३ गते बानेश्वरमा राज्यले हत्या गरेपछि मेरी आमाले अहिलेसम्म चित्त बुझाउन सक्नुभएको छैन। मेरी आमा जस्तै धेरै जेनजीका आमाहरूको प्रश्न छ– मेरो छोरो हतियारधारी थियो कि आतंककारी थियो? के कारणले हत्या गरियो?” उनले भने।

सांसद सुनारले राज्यले वन क्षेत्रमा बाँदर मार्नेलाई कारबाही गर्ने तर आन्दोलनका क्रममा युवामाथि गोली चलाउनेलाई कारबाही नगर्ने अवस्था देखिएको भन्दै आपत्ति जनाए।

“आरक्षभित्र बाँदर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेनजी मार्नेलाई कहिले कारबाही हुन्छ?” उनले प्रश्न गरे।

उनले भदौ २४ गते आक्रोशित भएर आन्दोलनमा सहभागी भएका युवाहरू विभिन्न आरोपमा थुनामा रहेको तर गोली चलाउनेहरू खुलेआम हिँडिरहेको आरोप लगाए।

“आफन्तको मृत्युको पीडा सहन नसकेर आन्दोलनमा होमिएकाहरू जेलमा नेल लगाएर बसिरहेका छन्। तर २३ गते गोली हान्नेहरू अहिले पनि बजारमा घुमिरहेका छन्। उनीहरूलाई कहिले कारबाही हुन्छ?” उनले भने।

सांसद सुनारले जेनजी आन्दोलनका क्रममा सिंहदरबार र अदालतमा भएको आगजनीको घटनाबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने बताए। भिडियो तथा अन्य प्रमाणका आधारमा दोषी पहिचान भइसकेकालाई कारबाही गर्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो।

उनले सिंहदरबार कसले जलायो भन्ने विषयमा पनि प्रश्न उठाउँदै आरोप लगाए, “जसले ७५ वर्ष देश चलाए, जसले जेनजीमाथि बानेश्वरमा गोली चलाए, उसैले सिंहदरबार जलाए।”

सुनारले विगतमा लामो समय सत्ता सञ्चालन गर्नेहरूले भ्रष्टाचार र अनियमितताका प्रमाण नष्ट गर्न अदालत र सिंहदरबारमा आगजनी गरेको दाबी गरे। उनले घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने बताए।

यसैबीच, सांसद सुनारले वर्तमान नेतृत्वमाथि उठ्ने आलोचनाको जवाफ दिँदै आफूहरूको धन र मन दुवै सफा रहेको दाबी गरे।

“हाम्रो कोट कालो छ र चस्मा पनि कालो छ। तर हाम्रो धन कालो छैन, मन पनि कालो छैन,” उनले भने।

प्रतिक्रिया दिनुहोस्