संवैधानिक संस्था कार्यपालिकाको लाचार छाया बने : अर्जुननरसिंह केसी
काठमाडौं। , २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको प्रभावबाट मुक्त राख्न नसकिएको आरोप लगाएका छन्। उनले संवैधानिक संस्थाको वास्तविक स्वायत्तता सुनिश्चित नभएसम्म संसदीय सुनुवाइ प्रक्रिया प्रभावकारी हुन नसक्ने बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्तिसम्बन्धी सुनुवाइबारे छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सांसद केसीले संवैधानिक निकायहरूलाई कार्यपालिकाको “लाचार छाया” बनाउने प्रयास भइरहेको टिप्पणी गरे।
उनले संवैधानिक संस्थाहरूले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण र क्षमता विकास नभएसम्म नियुक्ति प्रक्रिया मात्रले अपेक्षित परिणाम दिन नसक्ने बताए।
“जबसम्म त्यसको संवैधानिक स्वायत्ततालाई प्रभावकारी रूपमा परिचालन गर्ने क्षमता हुँदैन, त्यसले प्रभावकारी काम गर्न सक्दैन। क्षमता नभएको व्यक्तिलाई सरकारले नियुक्ति गर्दा पनि हामीले नियन्त्रण गर्ने परिस्थिति निर्माण गर्न सकेनौं भने संसदीय सुनुवाइ समितिको उपादेयता परिणाममूलक हुन सक्दैन,” उनले भने।
केसीले आफ्नो लामो संसदीय अनुभव उल्लेख गर्दै हालसम्म संसदीय सुनुवाइ समितिबाट अत्यन्तै कम नियुक्ति मात्रै अस्वीकृत भएको बताए। अधिकांश प्रस्तावित नियुक्तिहरू पर्याप्त परीक्षणबिनै अनुमोदन हुने गरेको भन्दै उनले सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले प्रस्तावित पदाधिकारीविरुद्ध नागरिक तहबाट प्राप्त हुने गुनासा, सुझाव र सूचनालाई व्यवस्थित रूपमा संकलन गर्ने संयन्त्र बलियो बनाउनुपर्ने बताए। आवश्यक परे सुनुवाइका लागि थप समय दिएर प्राप्त उजुरीको निष्पक्ष अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
“उहाँहरूले सम्बन्धित संस्थालाई कसरी विकास गर्ने योजना बनाउनुभएको छ भन्ने विषय पनि सार्वजनिक गरौं,” केसीले भने।













प्रतिक्रिया दिनुहोस्