निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

काठमाडौं। , २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या समाधान, निर्माण व्यवसायको प्रवर्द्धन र भौतिक पूर्वाधार विकासका विषयमा निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको बताए।

उनले निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न सरकार, निर्माण व्यवसायी तथा सम्बन्धित पक्षबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए।

छलफलका क्रममा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोग्दै आएका विभिन्न समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

महासंघका प्रतिनिधिहरूले निर्माण आयोजनाको भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना समयमै सम्पन्न गर्ने विषय, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौती समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्