सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ : मन्त्री पोखरेल

काठमाडौं। , २५ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर काम गरिरहेको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले सरकारले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको बताए।

उनले सरकारले सय दिनभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यताका आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा देखिने गरी काम अघि बढाएको दाबी गरे।

“सय दिनभित्रै भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अगाडि बढेको छ,” उनले भने।

मन्त्री पोखरेलले शासकीय सुधारका प्रयासलाई निरन्तरता दिँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको बताए।

उनले सरकारले डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउनसमेत विभिन्न कदम चालेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्