सभामुखको आग्रहप्रति नेकपाको प्रश्न : प्रधानमन्त्रीलाई नै जवाफ दिन भन्नुपर्ने थियो

काठमाडौं। , २५ असार । प्रतिपक्षी दलहरूले उठाउँदै आएको विरोधको शैलीबारे सभामुखले दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रश्न उठाएको छ।

प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद्मा विरोध गर्दै प्रधानमन्त्रीसँग जवाफ माग गरिरहेका छन्। यही क्रममा सभामुखले विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेपछि नेकपाका सांसद प्रमेशकुमार हमालले आपत्ति जनाएका हुन्।

संसद् बैठकमा बोल्दै सांसद हमालले सभामुखले आन्दोलनको शैली परिवर्तन गर्न आग्रह गर्नुभन्दा प्रधानमन्त्रीलाई संसद्मै आएर विषय स्पष्ट पार्न निर्देशन दिनुपर्ने बताए।

“आज सभामुख महोदयले आन्दोलनको रूप फेर्न भन्नुभयो। उहाँले किन प्रधानमन्त्रीज्यू यहीँ आएर स्पष्ट पार्नुहोस् भन्न सक्नुभएन?” उनले प्रश्न गरे।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सभामुखले सरकारलाई जवाफ दिन रुलिङ गर्नुपर्ने माग गर्दै आएका छन्। तर सभामुखले उल्टै विरोधको शैली परिवर्तन गर्न आग्रह गरेपछि नेकपाले प्रश्न उठाएको हो।

सांसद हमालले राष्ट्रियताको विषयमा आफूहरू अडिग रहेको भन्दै प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध जारी रहने बताए।

गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएका थिए। उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालले पनि भारतको भूमि केही स्थानमा मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले उक्त भनाइको प्रमाण दिनुपर्ने वा माफी माग्नुपर्ने माग राखेका छन्।

संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था रहेको भन्दै विपक्षी दलहरूले प्रधानमन्त्री पनि संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै विपक्षी दलहरूले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्