संसद् घटनाबारे छानबिन समितिको निष्कर्ष : मर्यादा उल्लंघन, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
काठमाडौं। , २५ असार । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार प्रयोग गर्न सुझाव दिएको छ।
सभामुखको सचिवालयका अनुसार समितिले अमर्यादित तथा उत्तेजक शब्द प्रयोग भएको अवस्थामा प्रतिनिधिसभा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जनाएको छ। त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्था आवश्यकता अनुसार कठोर रूपमा कार्यान्वयन गर्न समितिले सुझाव दिएको हो।
समितिले प्रतिनिधिसभा नियमावलीमा उल्लेख भएका सांसदहरूले पालना गर्नुपर्ने आचारसंहिता र नियमहरूको पूर्ण कार्यान्वयनमा सांसद स्वयं, संघीय संसद् सचिवालय तथा सभामुखले गम्भीर ध्यान दिनुपर्ने बताएको छ।
छानबिन समितिले संसदीय मर्यादा कायम राख्न विभिन्न सुधारका उपायसमेत सुझाएको छ। समितिले सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न, आचारसंहितासम्बन्धी सचेतना बढाउन, दलीय नेतृत्व तथा प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिएको छ।
त्यस्तै, संसद्को सुरक्षा तथा प्रविधि व्यवस्थापन सुधार, अन्तर्राष्ट्रिय असल अभ्यासको अनुकरण, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने, संसद् सचिवालयको जनशक्ति तथा प्रविधि क्षमता विस्तार गर्ने विषयमा पनि समितिले सुझाव दिएको छ।
समितिले राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व वृद्धि, संसदीय नजिर व्यवस्थापन, सिसिटिभी निगरानी तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने र कार्यव्यवस्था परामर्श समितिको भूमिकालाई थप प्रभावकारी बनाउने आवश्यकता औंल्याएको छ।
गत १७ जेठमा प्रतिनिधिसभामा भएको घटनाको छानबिन गर्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए।













प्रतिक्रिया दिनुहोस्