नियमावली प्रतिपक्षका लागि मात्रै हो भने स्पष्ट लेख्नुस् : सांसद यशोधा बराल

काठमाडौं। , २५ असार । नेकपा (एमाले)की सांसद यशोधा कुमारी बरालले प्रतिनिधिसभा नियमावली प्रतिपक्षका लागि मात्रै लागू हुने हो कि सबै सांसदका लागि समान रूपमा लागू हुने हो भनेर प्रश्न उठाएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियमावली सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताउँदै प्रधानमन्त्रीको उपस्थितिका विषयमा सभामुखले रूलिङ गर्नुपर्ने माग गरिन्।

“नियमावली प्रतिपक्षका लागि मात्रै हो? हो भने प्रतिपक्षका लागि मात्रै हो भनेर दस्तावेजमै उल्लेख गरिदिनुस्। होइन भने प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले रूलिङ गर्नुपर्छ,” उनले भनिन्।

सांसद बरालले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाइएको विषयमा पनि सरकारसँग जवाफ मागिन्। २५ हजार रुपैयाँ दिएर सडकमा पठाउनु मानवअधिकारको उल्लङ्घन हुने कि नहुने भन्दै उनले सरकारको कदममाथि प्रश्न उठाइन्।

“सुकुम्बासी जनता हुन् कि होइनन्? उनीहरूले बाँच्न पाउने कि नपाउने? २५ हजार रुपैयाँ दिएर सडकमा धकेलिदिँदा मानवअधिकार हनन हुन्छ कि हुँदैन?” उनले प्रश्न गरिन्।

त्यस्तै, काठमाडौंमा महिलाका लागि निःशुल्क नीलो बस सञ्चालन गर्ने सरकारी योजनामाथि पनि उनले टिप्पणी गरिन्।

“बसको नीलो रङ फेर्नेबित्तिकै ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा सेवा पुग्ने हो कि फेसबुकका भित्ता रंग्याउन मात्रै हो?” उनले भनिन्।

सरकारले सार्वजनिक गरेको सय दिने कार्ययोजनामाथि पनि सांसद बरालले प्रश्न उठाउँदै त्यसको उद्देश्य लोकप्रियता हासिल गर्नु मात्रै हो वा दीगो विकासका लागि हो भन्ने स्पष्ट गर्न सरकारसँग माग गरिन्।

प्रतिक्रिया दिनुहोस्