सुकुम्बासीलाई दिएको अल्टिमेटम फिर्ता लिन कांग्रेसको माग

काठमाडौं। , २५ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासी परिवारलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको पाँच दिने अल्टिमेटम तत्काल फिर्ता लिन माग गरेको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद हरिनादेवी कामीले वैकल्पिक व्यवस्थाबिनै ३८८ सुकुम्बासी परिवारलाई आश्रयस्थल खाली गर्न निर्देशन दिइनु मानव संवेदनामाथिको प्रहार भएको बताइन्।

उनले सरकारले एकमुष्ट २५ हजार रुपैयाँ र तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई पर्याप्त समाधान मान्न नसकिने उल्लेख गरिन्।

“यो महँगीको समयमा मासिक १५ हजार रुपैयाँ लिएर ती परिवार कहाँ जाने?” भन्दै उनले सुकुम्बासीहरू आफैंले पनि ‘हामी कहाँ जाने?’ भन्ने प्रश्न उठाइरहेको बताइन्।

राज्यले विकासका नाममा नागरिकलाई विस्थापित गर्न नहुने भन्दै कामीले कतिपय सुकुम्बासी अझै राज्यको आधिकारिक सूचीमै नसमेटिएको उल्लेख गरिन्।

“सूचीमै नभएका सुकुम्बासीले कसरी न्याय पाउने? विकासका नाममा नागरिकलाई घरबारविहीन बनाउन पाइँदैन,” उनले भनिन्।

कांग्रेसले सुकुम्बासीलाई पाँच दिनभित्र आश्रयस्थल खाली गर्न दिएको निर्णय फिर्ता लिन र उनीहरूको उचित वैकल्पिक व्यवस्थाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्