सभामुखको आग्रह अस्वीकार, विपक्षीले संसद्मा विरोध जारी राख्यो
काठमाडौं। , २५ असार । सभामुख डोलप्रसाद अर्यालले संसद्मा भइरहेको निरन्तर अवरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्।
बिहीबारको बैठकमा एउटै विषयमा सबै विपक्षी सांसदहरूले पालैपालो बोल्दै आएको भन्दै सभामुख अर्यालले विपक्षीको तर्फबाट एक जना सांसदले मात्र धारणा राखेर बैठकलाई नियमित कार्यसूचीतर्फ अघि बढाउन प्रस्ताव गरेका थिए। सोहीअनुसार उनले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए।
तर, विपक्षी दलहरूले एक जना सांसदले मात्र प्रतिनिधित्व गर्ने प्रस्तावमा असहमति जनाए। त्यसपछि सभामुख अर्यालले विरोध गर्ने शैली परिवर्तन गर्न आग्रह गर्दै विरोध सम्बन्धित विषयमै केन्द्रित हुनुपर्ने बताए।
उनले भने, “मैले आग्रह गरेबमोजिम माननीय सदस्यहरूको विरोध गर्ने शैली पनि परिवर्तन होस्। विरोध गर्दा सम्बन्धित विषयमै सीमित रहनुस्, सभामुखले बारम्बार त्यही कुरा सम्झाइरहनुपर्ने अवस्था आउनु राम्रो होइन।”
सभामुखले विरोधको औचित्य कायम राख्न पनि उठाइएको विषयभित्रै रहेर धारणा राख्नुपर्ने उल्लेख गर्दै पुनः विपक्षी दलका तर्फबाट एक जना सांसदले मात्र बोल्ने व्यवस्था स्वीकार गर्न आग्रह गरे।
“विपक्षी बेन्चतर्फ मेरो पुनः अनुरोध छ, एक जना माननीय सदस्यले सबैको प्रतिनिधित्व गर्दै बोलिसक्नुभएको हुनाले अब दैनिक कार्यसूचीतर्फ प्रवेश गरौं,” उनले भने।
तर, सभामुखको आग्रह विपक्षी दलहरूले स्वीकार गरेनन् र बैठकमा विरोधको क्रम यथावत् जारी राखे।













प्रतिक्रिया दिनुहोस्