प्रतिनिधिसभाको घम्साघम्सीबारे प्रतिवेदन कार्यान्वयनमा, सभामुखले सचिवालयलाई दिए निर्देशन
काठमाडौंं, २४ असार । प्रतिनिधिसभामा नियमावली पारित गर्ने क्रममा जेठ १७ गते भएको घम्साघम्सीबारे गठित जाँचबुझ समितिको प्रतिवेदन अध्ययनपछि सभामुख डोलप्रसाद अर्यालले कार्यान्वयन प्रक्रिया अघि बढाएका छन्।
संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले बुधबार जारी गरेको विज्ञप्तिमा सभामुखले प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन दिएको जानकारी दिएका छन्।
जाँचबुझ समितिले जेठ २५ गते सभामुखलाई प्रतिवेदन बुझाएको थियो।
सभामुख अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेका थिए। समितिले घटनाको अध्ययन गरी प्रतिवेदन पेश गरेको हो।
समितिका संयोजक प्रकाश अधिकारीका अनुसार घटनामा संसद्को भौतिक संरचनामा उल्लेखनीय क्षति पुगेको नदेखिएकाले कुनै सांसदबाट क्षतिपूर्ति भराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको छ।
यद्यपि, बैठकका क्रममा भएका अमर्यादित गतिविधिलाई भने प्रतिवेदनमा उल्लेख गरिएको छ।
समितिले घटनाको दिनको सम्पूर्ण भिडियो सामग्री अध्ययन गर्दै दृश्य विश्लेषण गरेको जनाएको छ। प्रतिवेदनमा डेस्कमाथि चढेका सांसदहरूको नामसमेत उल्लेख गरिएको छ।
प्रतिवेदनमा नेकपा एमालेकी सांसद रिंगला यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीको गतिविधि समेटिएको छ।
समितिले घटनाबारे सांसदहरूसँग भने कुनै सोधपुछ नगरी उपलब्ध दृश्य सामग्रीका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्