‘सरकारले भात खान्छ कि के खान्छ ?’ मल अभावबारे सांसद सन्तोष राजवंशीको प्रश्न

काठमाडौंं, २४ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले रोपाइँको मुख्य समयमा रासायनिक मल अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले किसानको आवश्यकता समयमै सम्बोधन गर्न नसकेको भन्दै व्यंग्यात्मक शैलीमा प्रश्न गरे, “म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात नै खान्छ।”

उनले भात धानबाट र धान किसानको खेतमा उत्पादन हुने उल्लेख गर्दै त्यसका लागि समयमा मल उपलब्ध हुनुपर्ने बताए।

“मलाई त थाहा छ भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन?” भन्दै उनले किसानले समयमै मल नपाउँदा कृषि उत्पादन प्रभावित हुने चेतावनी दिए।

सांसद राजवंशीले कृषि प्रधान मुलुकमा किसानले वर्षेनी मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै सरकारले खाद्य सुरक्षासँग जोडिएको विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

उनका अनुसार अन्नको भण्डार मानिने झापा, मोरङ र सुनसरी जिल्लामा हालसम्म करिब २८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ भने ७२ प्रतिशत रोपाइँ अझै बाँकी छ।

उनले कृषि मन्त्रालयको सूचनाअनुसार दुई सातापछि मल आउने जानकारी आफूले पाएको उल्लेख गर्दै उक्त मल समयमै किसानसम्म पुग्ने गरी वितरण व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे।

“मल आउनु मात्र पर्याप्त होइन, किसानको खेतसम्म सहज रूपमा पुग्नुपर्छ,” भन्दै उनले सरकारले वितरण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्