‘रास्वपा आफैं वासिङ मेसिन हो ?’ सरकारमाथि पद्मा अर्यालको प्रश्न

काठमाडौंं, २४ असार । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वहालवाला मन्त्री र सांसदलाई सम्पत्ति छानबिनको दायराभन्दा बाहिर राखिएको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा प्रश्न उठाएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिने कार्यसम्पादनमाथि धारणा राख्दै अर्यालले सरकारले सुशासनको नाममा दोहोरो मापदण्ड अपनाएको आरोप लगाइन्।

“रास्वपा आफैं वासिङ मेसिन हो? त्यहाँ पसेपछि सबै सफा भइहाल्ने हो? यो कुरालाई हेक्का राख्नुस्,” उनले भनिन्। यस्तो प्रवृत्तिले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने उनको चेतावनी थियो।

अर्यालले सरकारले ‘जान्नेलाई छान्ने’ नीति लिएको दाबी गरे पनि व्यवहारमा भने योग्य व्यक्तिलाई पाखा लगाएर आफ्ना निकट व्यक्तिलाई नियुक्ति दिएको आरोप लगाइन्।

उनले खुला प्रतिस्पर्धा र योग्यताका आधारमा गैरराजनीतिक व्यक्तिलाई नियुक्ति दिने भन्दै करिब १६ सय राजनीतिक नियुक्ति खारेज गरिएको स्मरण गराउँदै अहिले भने आफ्नै दलको चुनाव चिह्नबाट निर्वाचन हारेका व्यक्तिलाई धमाधम नियुक्ति गरिएको दाबी गरिन्।

“आफ्ना समर्थकलाई अतिरिक्त नम्बर थप्ने कामलाई सुशासनको कुन मोडल भन्ने?” भन्दै उनले सरकारसँग प्रश्न गरिन्।

सरकारको १०० दिने कार्यकालबाट आवश्यक पाठ सिक्नुपर्ने उल्लेख गर्दै अर्यालले राजनीतिक प्रतिशोध, अपारदर्शी समूहको प्रभावमा सरकार सञ्चालन, विधि उल्लंघन तथा संसद्प्रति गैरजवाफदेहिताको अभ्यास तत्काल अन्त्य गर्न आग्रह गरिन्।

“आगामी दिनहरू यी १०० दिनजस्ता त्रास र निराशाजनक नबनून्, यही सरकारलाई शुभकामना छ,” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्