सचिव कृष्णहरि पुष्कर पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा
काठमाडौंं, २४ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर बुधबारदेखि अनिवार्य अवकाशमा गएका छन्। उनले निजामती सेवामा सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेपछि अवकाश लिएका हुन्।
पुष्कर २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए। उनले निजामती सेवाका विभिन्न महत्त्वपूर्ण मन्त्रालय तथा निकायमा सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए।
उनले राजस्व सचिव, अर्थ सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा उपराष्ट्रपति कार्यालयका सचिवका रूपमा काम गरेका थिए।
पुष्कर २०५३ माघ १७ गते नायब सुब्बाका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए। सेवाको उत्तरार्धमा प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाएको विषयले उनी चर्चामा आएका थिए।
प्रधानमन्त्री शाहलाई सन्देश पठाएको विषयमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसपछि उपराष्ट्रपति कार्यालयमा कार्यरत पुष्करलाई सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको थियो।
लामो प्रशासनिक अनुभव भएका पुष्करले करिब तीन दशक निजामती सेवामा बिताउँदै विभिन्न जिम्मेवारी सम्हालेका थिए।












प्रतिक्रिया दिनुहोस्