सांसद हर्कराज राईको प्रश्न: प्रधानमन्त्रीलाई गाली गर्दा पक्राउ, मन्त्रीले धम्क्याउँदा किन कारबाही हुँदैन?

काठमाडौंं, २४ असार । नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई पक्राउ गर्ने तर मन्त्री र सांसदका धम्कीपूर्ण अभिव्यक्तिमाथि कारबाही नगर्नु अन्यायपूर्ण भएको बताए।

“प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म?” भन्दै राईले सरकारसँग प्रश्न गरे।

उनले नागरिकलाई गल्ती सच्याउने अवसर दिनुपर्ने उल्लेख गर्दै राज्यले प्रतिशोधको भावना राख्न नहुने बताए। सरकारको कार्यशैलीका कारण मुलुकमा लोकतन्त्र कमजोर बन्दै अराजकता बढिरहेको उनको भनाइ थियो।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै संसद्मा उपस्थित भएर त्यसबारे स्पष्टीकरण दिन सभामुखमार्फत रुलिङ गर्न माग गरे।

उनले लोकतन्त्रमा कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै भने, “जब नियम एकथरीलाई मात्र लागू हुन्छ, त्यहीँबाट अराजकता सुरु हुन्छ। अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ।”

त्यसैगरी, सांसद राईले सुर्खेत जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई साङ्लोले बाँधेर राखिएको घटनाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारले यस्ता संवेदनशील विषयमा गम्भीर बन्नुपर्ने बताए।

“मान्छेलाई थुनेको त देखिएको थियो, तर शान्तिका अग्रदूत बुद्धको मूर्तिलाई नै साङ्लोले बाँधेर राख्नुपर्ने कारण के हो?” भन्दै उनले उक्त घटनाको छानबिन र आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्