प्रधानमन्त्रीको आह्वानमा निजी क्षेत्रसँग आज पहिलो औपचारिक छलफल

काठमाडौंं, २४ असार । प्रधानमन्त्री बालेन शाहले आज निजी क्षेत्रका प्रमुख प्रतिनिधिसँग पहिलो औपचारिक छलफल गर्ने भएका छन्।

गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफलका लागि बोलाएका हुन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिको सहभागिता रहनेछ।

निजी क्षेत्रका प्रतिनिधिका अनुसार प्रधानमन्त्री कार्यालयबाट छलफलका लागि औपचारिक जानकारी प्राप्त भएको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीले निजी क्षेत्रका धारणा, सुझाव र अपेक्षा बुझ्न छलफलको आयोजना गरेको बताए।

उनका अनुसार सरकारका नीति तथा कार्यक्रम, निजी क्षेत्रलाई दिइएको प्राथमिकता, लगानीको वर्तमान अवस्था, आर्थिक गतिविधि विस्तारका उपाय तथा उद्योग–व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि प्रधानमन्त्रीका सल्लाहकार अशिम साहले संविधान संशोधनलगायतका विषयमा निजी क्षेत्रसँग प्रारम्भिक संवाद गरेका थिए।

सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ हुन लागेको यो छलफललाई दुवै पक्षले महत्त्वपूर्ण रूपमा हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्