एमाले नेता सिंहको निष्कर्ष : अध्यक्ष ओलीको अभिव्यक्तिले निर्वाचनमा क्षति पुग्यो

काठमाडौ, २३ असार ।नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरबिन्द सिंहले निर्वाचन अवधिभर पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको अभिव्यक्तिले पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन्।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई मंगलबार सुझाव दिँदै सिंहले निर्वाचन हार्नुका कारणमध्ये नेतृत्वको अभिव्यक्ति पनि प्रमुख रहेको बताए।

उनले विशेषगरी ‘गुइँठा र छाउरा’ जस्ता अभिव्यक्तिले मधेसमा पार्टी रक्षात्मक अवस्थामा पुगेको दाबी गरे। “निर्वाचन अवधिभर अध्यक्ष र उहाँ निकटका नेताहरूको अभिव्यक्तिले चुनावी परिणाममा महत्त्वपूर्ण असर गर्‍यो,” सिंहले सुझाव दिने क्रममा भने।

सिंहले जेनजी आन्दोलनका क्रममा हत्या हिंसा र नरसंहारको आरोप लागेका पार्टी अध्यक्षलाई पुनः प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु कति वस्तुनिष्ठ थियो भन्ने प्रश्नसमेत उठाए।

उनका अनुसार निर्वाचनमा पार्टी अध्यक्षको भूमिका समग्र परिचालनको नेतृत्वकर्ताभन्दा पनि क्षेत्रीय संयोजकजस्तो देखिएको थियो। “आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जान नसक्ने अवस्था कसरी सिर्जना भयो ?” उनले प्रश्न गरे।

एमाले सञ्चालन प्रणालीमा देखिएका समस्याबारे बोल्दै सिंहले ठूला र भद्दा कमिटी, निर्देशित तथा नियन्त्रित संगठन प्रणाली र आधारभूत तहका नेता–कार्यकर्ता तथा जनताका आवाज बेवास्ता गर्ने प्रवृत्ति सुधार गर्नुपर्ने बताए।

उनले वास्तविक अवस्था नदेखाई फर्जी रिपोर्टिङ गर्नेहरूलाई जिम्मेवारी दिने परिपाटी अन्त्य हुनुपर्ने धारणा राखे।

“त्यसैले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै किन्तु–परन्तु नगरी नेतृत्व छोड्नु नै अहिले एमाले पुनर्गठनको प्रारम्भ हो,” सिंहले भने।

एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले जेठ ३० गतेदेखि सुरु गरेको छलफलअन्तर्गत मंगलबार असार २३ गते केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूसँग सुझाव संकलन गरेको हो।

सुझाव दिने क्रममा केन्द्रीय सल्लाहकारहरू उषाकिरण तिम्सिना, केशव बडाल, अमृत बोहोरा, युवराज ज्ञवाली, गुरु बराल, वैद्यनाथ चौधरी र लक्ष्मी पोखरेललगायतले धारणा राखेका थिए।

उनीहरूमध्ये लक्ष्मी पोखरेल बाहेक अधिकांश सल्लाहकारहरूले पार्टी पुनर्गठन आवश्यक रहेको सुझाव दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्