विद्युत् उत्पादनभन्दा प्रसारण र वितरण प्रणाली सुदृढीकरणमा सरकारको जोड : मन्त्री श्रेष्ठ
काठमाडौ, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले विद्युत् उत्पादनभन्दा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणलाई प्राथमिकता दिएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले उत्पादित विद्युत् खेर जान नदिन र दिगो आपूर्ति सुनिश्चित गर्न सरकारले प्रसारण तथा वितरण प्रणाली सुधारमा जोड दिएको बताए।
उनले विद्युत् खपत बढाउनु सरकारको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै आन्तरिक खपत विस्तारसँगै अतिरिक्त विद्युत् निर्यात गर्ने नीति लिइएको जानकारी दिए।
“अब विद्युत् उत्पादन मात्रै होइन, खपतलाई पहिलो प्राथमिकता दिई निर्यातमा जोड दिने बेला आएको छ,” उनले भने।
मन्त्री श्रेष्ठका अनुसार सरकारले ऊर्जा खपत नीति तथा निर्यात रणनीति २०८३ कार्यान्वयनमा ल्याई आन्तरिक विद्युत् खपत उल्लेख्य रूपमा बढाउने योजना अघि सारेको छ।
उनले वर्षायाममा बचत हुने विद्युत्लाई अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा निर्यात गर्ने स्पष्ट नीति सरकारले लिएको बताए।
“उत्पादित विद्युत् खेर जान नदिन दिगो आपूर्ति सुनिश्चित गर्न सरकारले उत्पादनभन्दा बढी प्रसारण र वितरण प्रणाली सुदृढीकरणमा जोड दिएको छ,” मन्त्री श्रेष्ठले भने।
उनले अब निजी क्षेत्रले पनि विद्युत् बिक्री वितरण गर्न पाउने व्यवस्था गरिएको दाबी गरे।
सरकारले विद्युत् खपत विस्तार, प्रसारण पूर्वाधार विकास र अन्तरदेशीय विद्युत् व्यापारलाई ऊर्जा क्षेत्रको दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाएको मन्त्री श्रेष्ठको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्