ट्रम्प र सीबीच सेप्टेम्बर २४ मा भेटवार्ता हुने सम्भावना
काठमाडौ, २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आगामी सेप्टेम्बर २४ आसपास भेटवार्ता हुने अपेक्षा व्यक्त गरेका छन्।
ह्वाइट हाउसमा नयाँ सभागृह (बलरूम) निर्माणबारे सोमबार आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणका कारण ठूलो क्षमताको संरचना आवश्यक पर्ने बताएका हुन्।
“मेरो विचारमा राष्ट्रपति सी यहाँ सेप्टेम्बर २४ तिर आउँदै हुनुहुन्छ। हामीलाई एउटा ठूलो सभागृह चाहिन्छ, जहाँ उनलाई भेट्न हजारौं मानिस अट्न सकून्,” ट्रम्पले भने।
सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभा न्यूयोर्कमा आयोजना हुँदैछ। सो अवसरमा विश्वका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू अमेरिकामा भेला हुने गर्छन्।
ट्रम्पले सेप्टेम्बर २२ मा महासभालाई सम्बोधन गर्ने तालिका रहेको छ। महासभामा सहभागी हुन आउने क्रममा उनले विभिन्न विश्व नेताहरूसँग भेटवार्ता गर्ने गरेका छन्।
यसअघि पनि ट्रम्पले सेप्टेम्बरमा सीलाई स्वागत गर्ने अपेक्षा व्यक्त गरेका थिए। तर यसअघि उनले भ्रमणको सम्भावित मिति भने सार्वजनिक गरेका थिएनन्।
ट्रम्प र सीबीच यसै वर्षको मे महिनामा बेइजिङमा भएको उच्चस्तरीय शिखर सम्मेलनका क्रममा भेटवार्ता भएको थियो। यसअघि व्यापारिक सहमति अन्तिम रूप दिन ट्रम्पले चीन भ्रमण गर्ने तयारी गरे पनि विश्वका अन्य घटनाक्रमका कारण उक्त भ्रमण स्थगित भएको थियो।
यसैबीच, ताइवानको विषयलाई लिएर चीन–अमेरिका सम्बन्धमा जोखिम बढ्न सक्ने चेतावनी चिनियाँ राष्ट्रपति सीले दिएका थिए। उनले ताइवान मुद्दा दुई देशबीचको सम्बन्धको सबैभन्दा महत्वपूर्ण विषय भएको र गलत व्यवस्थापन भए द्वन्द्वको अवस्था आउन सक्ने बताएका थिए।












प्रतिक्रिया दिनुहोस्