बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने काठमाडौं महानगरको तयारी
काठमाडौ, २३ असार । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन र फोहोर व्यवस्थापनलाई दिगो बनाउन उपत्यकाका अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने भएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहोर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै फोहोर वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रिया कार्यान्वयन गर्दै लगिएको जानकारी दिइन्।
उनका अनुसार बञ्चरेडाँडा ल्यान्डफिल साइट तथा त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक कार्यक्रमका लागि महानगरपालिकाले वार्षिक करिब १ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ।
“महानगरपालिकाले विभिन्न स्थानमा सहरबाट उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी मात्रा घटाएर मात्र ल्यान्डफिल साइटमा पुर्याउने कार्यलाई प्राथमिकता दिएको छ,” उनले भनिन्।
महानगरपालिकाले फोहोरको भारका आधारमा उपत्यकाका स्थानीय तहबाट वित्तीय साझेदारीको अपेक्षा गरेको जनाएको छ। यसबाट स्थानीय तहलाई आफूले उत्पादन गरेको फोहोर व्यवस्थापनप्रति जिम्मेवार र अपनत्व महसुस गराउने उद्देश्य रहेको महानगरले स्पष्ट पारेको छ।
काठमाडौं महानगर क्षेत्रमा तुलनात्मक रूपमा धेरै फोहोर उत्पादन हुने भएकाले कुल वित्तीय जिम्मेवारीमध्ये करिब ५० प्रतिशत हिस्सा लिन महानगर तयार रहेको कार्यवाहक प्रमुख डङ्गोलले बताइन्।
बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन फोहोर वर्गीकरण, पुनःप्रयोग र पुनर्चक्रीय प्रयोगलाई प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भइरहेको छ।
हाल काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहबाट उत्पादन भएको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।
महानगरपालिकाका अनुसार सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरा लगायतका अधिकारी तथा वातावरण व्यवस्थापन विभागका प्रतिनिधिसँग ल्यान्डफिल साइटको आयु विस्तार गर्न आवश्यक उपाय र प्रविधिका विषयमा छलफल गरिएको छ।












प्रतिक्रिया दिनुहोस्