त्रिविका करार शिक्षण सहायकको बेरुजु विषयमा गम्भीर बन्न सांसद पराजुलीको आग्रह

काठमाडौ, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले त्रिभुवन विश्वविद्यालयका ४ सय ८० जना करारका शिक्षण सहायकको पारिश्रमिकलाई महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको विषयमा गम्भीर बन्न सार्वजनिक लेखा समितिलाई आग्रह गरेका छन्।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पराजुलीले श्रम गरेर पारिश्रमिक लिएका कर्मचारीबाट बेरुजु रकम असुल गर्ने कि प्रक्रिया नपुर्‍याई निर्णय गर्ने निकायको जिम्मेवारी खोज्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए।

उनले श्रम गरेर तलब लिएका कर्मचारीमाथि अन्याय हुने अवस्था आउन नदिन समितिले न्याय, सुधार र जवाफदेहिताको पक्षमा काम गर्नुपर्ने धारणा राखे।

“केही दिनअघि त्रिभुवन विश्वविद्यालयका ४ सय ८० जना करारका शिक्षण सहायकहरू गुनासो लिएर हामीकहाँ आउनुभएको थियो। महालेखा परीक्षकले उनीहरूले लिएको तलबभत्तामा बेरुजु देखाइदिएको छ,” उनले भने, “अब त्यो रकम श्रम गरेर तलब लिएकाबाट असुल गर्ने हो कि प्रक्रिया नपुर्‍याई निर्णय गर्ने निकायबाट असुल गर्ने हो भन्ने विषयमा सोच्नुपर्छ।”

सांसद पराजुलीले सार्वजनिक सरोकारका यस्ता विषय धेरै रहेको उल्लेख गर्दै समितिले प्रभावकारी हस्तक्षेप गर्नुपर्ने बताए।

बैठकमा बेरुजु छलफल उपसमिति गठन गर्ने र समितिको आन्तरिक कार्यविधि पारित गर्ने विषयमा पनि छलफल भएको थियो।

सार्वजनिक लेखा समितिले पाँच वटा उपसमिति गठन गर्ने तयारी गरेको छ। प्रस्तावित उपसमितिहरूमा अर्थ सुशासन उपसमिति, राज्य सुरक्षा, न्याय, कानुन तथा प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत तथा वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान तथा मानव पुँजी उपसमिति र सामाजिक न्याय, कल्याण तथा समावेशीकरण उपसमिति रहेका छन्।

तर उपसमितिका संयोजक चयनमा सहमति जुट्न नसकेपछि हालसम्म उपसमिति गठन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्