बेरुजु फर्स्यौटलाई पहिलो प्राथमिकता दिन सांसद शाहीको आग्रह
काठमाडौ, २३ असार । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सार्वजनिक लेखा समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्ने बताएका छन्।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद शाहीले बेरुजु फर्स्यौटका लागि एक–दुई हप्ताभित्र सम्पन्न गर्ने गरी स्पष्ट कार्यतालिका बनाउन आग्रह गरे।
उनले समितिमा परेका उजुरी मात्र नभई सार्वजनिक महत्वका अन्य विषयलाई समेत छलफलको विषय बनाउनुपर्ने धारणा राखे।
“अहिले तत्काल गर्नुपर्ने कुरा बेरुजु फर्स्यौट नै हो। यसलाई जति सकिन्छ, छिटो गर्नुपर्छ। एक–दुई हप्ताभित्र बेरुजु फर्स्यौट गर्नेगरी कार्यतालिका निर्धारित गर्नुपर्छ,” उनले भने।
सांसद शाहीले समिति उजुरीमा मात्र सीमित हुन नहुने बताए। उनले समितिले आफैंले देखेका अनियमितता तथा शंकास्पद विषयलाई समेत तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने धारणा राखे।
“उजुरी आएपछि मात्रै छलफल गर्नुपर्छ, उजुरी नआएका विषयमा छलफल गर्नु हुँदैन भन्ने अदालती कामकाज जस्तो समिति हुनु हुँदैन,” उनले भने।
उनका अनुसार सार्वजनिक निकायमा देखिएका अनियमितता र समस्या समाधानका लागि समितिले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ।












प्रतिक्रिया दिनुहोस्