अदुवा, छुर्पी र गलैंचा निर्यात बढाउन सरकारले बनाउँदैछ विशेष रणनीति

काठमाडौ, २३ असार । सरकारले अदुवा, छुर्पी र गलैंचाको निर्यात प्रवर्द्धन गर्न विशेष रणनीति तयार गरिरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नेपाल व्यापार एकीकृत रणनीति २०८० अनुसार निर्यातको सम्भावना भएका वस्तुहरूको प्रवर्द्धनका लागि सरकारले काम गरिरहेको जानकारी दिएकी हुन्।

आगामी आर्थिक वर्षको बजेटका विषयमा राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौरी कुमारीले अदुवा, छुर्पी र गलैंचाको छुट्टाछुट्टै निर्यात रणनीतिको मस्यौदा तयार भइसकेको बताइन्।

उनले भनिन्, “यसक्रममा अदुवा, छुर्पी र गलैंचा यी तीन वटा वस्तुको छुट्टाछुट्टै निर्यात रणनीतिको मस्यौदा तयार भइसकेको छ।”

मन्त्रीका अनुसार नेपालका निर्यात सम्भावना भएका वस्तुहरूको बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ।

यसैगरी चिया तथा अलैंचीको भण्डारणका लागि वेयरहाउस निर्माण गर्न आवश्यक स्रोत सुनिश्चित गरिएको पनि उनले जानकारी दिइन्।

सरकारले निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्ने लक्ष्यसहित कृषि तथा हस्तकलामा आधारित वस्तुको अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्