कांग्रेस संस्थापन इतर पक्षद्वारा सम्पर्क कार्यालय स्थापना, महाधिवेशन तयारी सुरु

काठमाडौंं, २२ असार । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउन काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको बैठक पनि सुरु भएको छ।

बैठकको प्रारम्भिक सत्रमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनसँग सम्बन्धित विवाद तथा पार्टीका पछिल्ला गतिविधिबारे जानकारी गराएका थिए।

नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टीलाई विभाजनबाट जोगाउन शीर्ष नेतृत्व र केन्द्रीय सदस्यहरूले प्रयास गरे पनि पछिल्ला पाँच महिनामा पार्टी एकताले ठोस रूप लिन नसकेको भन्दै बैठकमा चिन्ता व्यक्त गरिएको थियो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई सामना गर्न र लोकतन्त्रलाई सुदृढ बनाउन कांग्रेसभित्र बलियो एकता आवश्यक रहेको बताए। उनले आधिकारिक नेतृत्वले पार्टी एकताका लागि प्रभावकारी पहल गर्न नसकेको आरोप पनि लगाए।

बैठकले आगामी साउन ६ गते विपी कोइरालाको स्मृति दिवस विशेष रूपमा मनाउने निर्णय गरेको छ। यसका लागि मंगलबार बस्ने बैठकले कार्यक्रमको विस्तृत कार्यतालिका र स्थान तय गर्ने जनाइएको छ।

मंगलबारकै बैठकले १५औँ महाधिवेशनको कार्यतालिका तथा सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने आगामी कार्यक्रमबारे पनि निर्णय गर्नेछ।

पार्टीभित्रको आन्तरिक विवादबारे टिप्पणी गर्दै विश्वकर्माले वर्तमान नेतृत्वका कारण एकतामा अवरोध सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशनको अडानका कारण पार्टीले पछिल्लो निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्