देउवा पक्षको छुट्टै सम्पर्क कार्यालय सञ्चालन, पार्टी एकता र महाधिवेशनबारे छलफल

काठमाडौंं, २२ असार । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा पार्टी सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै संगठनात्मक गतिविधि र पार्टीको समसामयिक अवस्थाबारे छलफल सुरु गरेको छ।

सोमबार आयोजित छलफलमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनयताका गतिविधिबारे जानकारी गराएका थिए। उनले पार्टी एकताका लागि निरन्तर पहल भइरहेको र १११ जना केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव संस्थापन पक्षसमक्ष राखिएको बताएका छन्।

खड्काले उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव गरे पनि आफूले स्वीकार नगरेको विषय पनि बैठकमा जानकारी गराएका थिए।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले छलफल मंगलबार पनि निरन्तर रहने बताए। उनका अनुसार साउन ६ गते विपी स्मृति दिवस मनाउने निर्णय गरिएको छ।

उनले १५औँ महाधिवेशनको कार्यतालिका तथा नयाँ सम्पर्क कार्यालयबाट सञ्चालन गरिने गतिविधिबारे मंगलबार थप निर्णय गरिने जानकारी दिए।

विश्वकर्माले सभापति गगन थापाबाट पनि पार्टी एकतामा सहयोग पुग्ने किसिमका अभिव्यक्ति आएको उल्लेख गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताए।

उनले पार्टी एकतालाई प्राथमिकतामा राख्दै आवश्यक परे कांग्रेसका लागि वैकल्पिक राजनीतिक बाटोबारे पनि छलफल भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्