झापा भ्रमणमा गृहमन्त्री, सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको निरीक्षण
काठमाडौंं, २२ असार । गृहमन्त्री सुदन गुरुङ सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रको अवस्था बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्ने उद्देश्यले झापा भ्रमणमा रहेका छन्।
आइतबार राति झापा पुगेका गृहमन्त्री गुरुङले सोमबार अर्जुनधारा नगरपालिका–११ स्थित सालबारीमा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरेका छन्। भेटमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए।
भेटका क्रममा जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, चोरी–पैठारी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो।
त्यसपछि गृहमन्त्री गुरुङ मेचीनगरस्थित बाहुण्डाँगी पुगेका छन्। भ्रमणका क्रममा उनले बुद्धशान्ति गाउँपालिकामा पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
गृहमन्त्रीले मेचीनगरस्थित सशस्त्र प्रहरी बलको सीमा जाँच चौकीको निरीक्षण गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन्। त्यसपछि उनले काँकरभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षण गर्दै सुरक्षा, भन्सार व्यवस्थापन, राजस्व सङ्कलन तथा सीमा आवतजावतको अवस्थाबारे जानकारी लिएका छन्।
भ्रमणका क्रममा झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा अवैध सीमा गतिविधिका विषयमा गृहमन्त्रीले विशेष चासो व्यक्त गरेका छन्।
बाहुण्डाँगी क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको जङ्गली हात्तीको समस्याबारे पनि उनले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ। प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्दै स्थानीयवासीका गुनासा, समस्या र सुझाव समेत सङ्कलन गरिने जनाइएको छ।
गृहमन्त्रीको भ्रमणलाई लक्षित गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी प्रशासनका अनुसार सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित छन्।












प्रतिक्रिया दिनुहोस्