सगरमाथा आरोहणअघि ७ हजार मिटर माथिका हिमाल चढ्नुपर्ने प्रावधान ल्याउने तयारी

काठमाडौंं, २२ असार । सरकारले सगरमाथा आरोहणका लागि नयाँ प्रावधान ल्याउने तयारी गरेको छ। जसअनुसार अब सिधै सगरमाथा चढ्न नपाइने व्यवस्था गर्न लागिएको छ।

सोमबार राष्ट्रियसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा सात हजार मिटरभन्दा माथिका अन्य हिमाल नचढी सिधै सगरमाथा आरोहण गर्न नपाइने व्यवस्था समावेश गरिनेछ।

मन्त्री पौडेलले सगरमाथामा बढ्दो आरोहण चापका कारण हिमालको सुरक्षा र दिगोपनामा जोखिम बढ्दै गएको बताए। उनले हिमाललाई मात्र पर्यटनको मुख्य आधार बनाउनु उपयुक्त नहुने भन्दै पर्यटनका अन्य क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए।

उनका अनुसार एउटै क्षेत्रमा अत्यधिक निर्भरता बढेमा पर्यटन क्षेत्र दिगो नहुने भएकाले विविधीकरण आवश्यक छ।

मन्त्री पौडेलले हाल नेपालमा भारतीय पर्यटकको चाप उल्लेख्य रहेको बताउँदै लक्ष्य अनुसार पर्यटक भित्र्याउन अझै चुनौती रहेको स्वीकार गरे।

उनले पर्यटन प्रवर्द्धनका लागि सरकारी, निजी, गैरसरकारी, दातृ निकाय तथा प्रवासी नेपाली समुदायसँग सहकार्य गरेर अघि बढ्ने सरकारको योजना रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्