सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबार, बजेट तथा विधेयक टेबल हुने कार्यसूची

काठमाडौंं, २२ असार । सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारका लागि आह्वान गरिएको छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिव देबबहादुर बोगटीले जानकारी दिएका छन्।

बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेटसँगै अर्थ विधेयक र विनियोजन विधेयक टेबल गर्ने कार्यसूची रहेको छ।

प्रदेश सरकारले असार १ गते मध्यराति करिब ३७ अर्ब ७० करोड रुपैयाँको ऐतिहासिक बजेट प्रस्तुत गरेको थियो। तर बजेट प्रस्तुत भएको लामो समयसम्म प्रदेश सभामा टेबल हुन सकेको थिएन।

बजेटप्रति सत्ता साझेदार दल नेकपा (एमाले) का सचेतक चक्र बम लगायत सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन्। एमाले सांसद दमन भण्डारीले पनि बजेटप्रति असन्तुष्टि व्यक्त गरेको बताइएको छ।

यसअघि एमालेभित्र मन्त्री हेरफेरको तयारीसमेत भए पनि अन्तिम अवस्थामा रोकिएको स्रोतले जनाएको छ। बजेटप्रति देखिएको असन्तुष्टिलाई दलभित्रको आन्तरिक किचलोका रूपमा समेत विश्लेषण गरिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले कांग्रेसका केही मन्त्री परिवर्तन गर्दै नयाँ नियुक्ति गरेपछि सत्ता साझेदार दलहरूसँग सहमति कायम गर्ने प्रयास गरिएको थियो।

दलहरूबीच सहमति कायम भएमा मंगलबारको बैठकपछि बजेटमाथि दफावार छलफल अघि बढ्नेछ। सहमति नभए बैठक सञ्चालनमा अनिश्चितता रहन सक्ने बताइएको छ।

प्रदेश सभा सचिव बोगटीका अनुसार सहमति कायम भएमा लगातार बैठक बस्दै बजेटमाथिको छलफल टुंग्याउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्