शिक्षा क्षेत्रमा सरकारको १०० दिन ‘निराशाजनक’ भएको नेविसंघको टिप्पणी
काठमाडौंं, २२ असार । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारको १०० दिन शिक्षा क्षेत्रमा निराशाजनक रहेको टिप्पणी गरेको छ।
नेविसंघले सरकारले शिक्षा क्षेत्रमा गरेका निर्णयहरू वैज्ञानिक अध्ययन र पर्याप्त तयारी बिना गरिएको आरोप लगाएको छ।
संघकी अध्यक्ष करुणा कटुवालद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालयको स्वायत्तता कमजोर पार्ने अध्यादेशदेखि परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाउने व्यवस्थापकीय लापरवाहीसम्मका कारण यो अवधि शिक्षा क्षेत्रका लागि ‘अवसर गुमेको १०० दिन’ भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति प्रक्रिया तथा कार्यकालसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तनप्रति पनि आपत्ति जनाइएको छ।
नेविसंघले संसद् छलेर अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गर्दै त्यसले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढाउने खतरा रहेको दाबी गरेको छ।
त्यसैगरी एसईई र कक्षा १२ को परीक्षा व्यवस्थापनमा गम्भीर प्राविधिक तथा व्यवस्थापकीय त्रुटि भएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ।
नेविसंघले समग्र शिक्षा क्षेत्रलाई दीर्घकालीन सुधार र स्थायित्वतर्फ लैजान जिम्मेवार, पारदर्शी र वैज्ञानिक नीति आवश्यक रहेको जोड दिएको छ।












प्रतिक्रिया दिनुहोस्