संविधान संशोधन बहस स्वाभाविक, मूलभूत विषय नचलाउन हर्क साम्पाङको आग्रह
काठमाडौंं, २२ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनसम्बन्धी बहसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।
तर, संविधानका मूलभूत विषयमा हस्तक्षेप गर्न खोजिए त्यसले देशलाई सही गन्तव्यतर्फ नलैजाने चेतावनी पनि उनले दिएका छन्।
उनका अनुसार संविधान संशोधनबारे छलफल भइरहेको जानकारी आफूहरूलाई प्राप्त भएको छ।
साम्पाङले संघीयता, समावेशी व्यवस्था र धर्मनिरपेक्षता जस्ता आधारभूत विषयमा कुनै पनि प्रकारको परिवर्तन वा हस्तक्षेप गर्न खोजिए गम्भीर परिणाम निम्तिन सक्ने बताए।
उनले भने, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता यी तीन विषयमा तलमाथि हुने गरी हस्तक्षेप गर्न खोजियो भने देशमा दुर्घटना निम्तिन सक्छ।’
उनले सचेतनापूर्वक वा अनजानमै गरिने निर्णयले समेत देशमा अस्थिरता ल्याउन सक्ने भन्दै संवैधानिक संरचनाको मूल मर्म सुरक्षित राख्दै आवश्यक सुधार मात्र गर्नुपर्ने धारणा राखे।
साम्पाङले संविधानका आधारभूत विषय नचलाइकन आवश्यक परिमार्जन गर्न सकिने उल्लेख गर्दै जिम्मेवार ढंगले बहस अघि बढाउन आग्रह गरेका छन्।












प्रतिक्रिया दिनुहोस्