नवलपरासीको पाल्हीनन्दन गाउँपालिका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौंं, २२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले गुप्तामाथि गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य तथा नातेदारको नाममा सम्पत्ति लुकाएको आरोप लगाएको छ। उनीविरुद्ध ३ करोड ४५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
गुप्ता असार २०७४ देखि पाँच वर्षसम्म पाल्हीनन्दन गाउँपालिकाको अध्यक्ष पदमा रहेका थिए। सो अवधिमा उनले साढे तीन करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार गुप्ताको कुल सम्पत्ति ६ करोड ९७ लाख रुपैयाँ रहेको देखिएको छ भने उनले ३ करोड ५१ लाख रुपैयाँ मात्रै वैध स्रोतबाट आर्जन गरेको प्रमाण भेटिएको छ।
मुद्दामा गुप्तासँगै उनका बाबु वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
अख्तियारले उनीहरूले गैरकानुनी सम्पत्ति लुकाउन र व्यवस्थापन गर्न संलग्न भएको आरोपसमेत लगाएको छ।












प्रतिक्रिया दिनुहोस्