कर्णाली राजमार्ग दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग्दै सांसद रमेश प्रसाईंको रूलिङ माग
काठमाडौंं, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भइरहेका सवारी दुर्घटनाबारे गृहमन्त्रीको तत्काल जवाफ माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रसाईंले कर्णाली राजमार्गमा लगातार हुने दुर्घटनालाई राज्यले केवल समाचारका रूपमा मात्र लिएको भन्दै आपत्ति जनाए।
उनले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै हालै भएका दुर्घटनामा उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए।
प्रसाईंले उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्न सके–नसकेको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरे। साथै भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा ढिलाइ भएको विषय गम्भीर भएको बताए।
उनले भने, ‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ।’
उनका अनुसार कर्णाली राजमार्गका दुर्घटनाहरू अब नियमित समाचार जस्ता बन्नु दुःखद अवस्था हो।
सांसद प्रसाईंले कर्णाली राजमार्गलाई सुरक्षित बनाउन सरकारले के–कस्ता दीर्घकालीन योजना अघि सारेको छ भन्ने प्रश्न गर्दै गृहमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन सभामुखमार्फत रूलिङको माग गरेका छन्।
नागरिकको जीवनसँग सम्बन्धित गम्भीर विषयमा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।












प्रतिक्रिया दिनुहोस्