प्रधानमन्त्रीको सम्पत्ति विवरणमाथि कांग्रेसको प्रश्न, स्रोत खुलाउन माग
काठमाडौंं, २२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्ति विवरणबारे प्रश्न उठाएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सम्पत्तिको स्रोतबारे स्पष्टता आवश्यक रहेको बताए।
उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले देखाएको इच्छाशक्तिको स्वागत गर्दै जुनसुकै दल वा पदमा रहे पनि कानुनी दायरामा आउनुपर्ने धारणा राखे।
आङ्देम्बेले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको उल्लेख गर्दै केही पदाधिकारीसँग ठूलो परिमाणमा सुन तथा सम्पत्ति देखिएको दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्रीजीको सम्पत्तिमा झण्डै दुई सय तोला सुन देखियो। अन्य मन्त्रिपरिषद्का सदस्यहरूको पनि त्यस्तै विवरण देखिएको छ। तर यसको स्रोत के हो भन्ने कुरा जनताले जान्न पाउनुपर्छ।’
उनका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो सम्पत्तिको स्रोत स्पष्ट रूपमा खुलाउनुपर्ने दायित्व हुन्छ।
आङ्देम्बेले सम्पत्ति आर्जनलाई अपराधका रूपमा नलिने स्पष्ट गर्दै स्रोत पारदर्शी हुनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचार छानबिन प्रक्रिया निष्पक्ष हुनुपर्ने र चयनात्मक रूपमा प्रयोग गर्न नहुने बताए।
उनले आफूबाटै सम्पत्ति छानबिन सुरु गर्न तयार रहेको घोषणा गर्दै भने, ‘सम्पत्ति छानबिनको सुरुवात मबाटै होस्। मेरो नाम भीष्मराज आङ्देम्बे हो, मेरो सम्पत्ति पनि छानबिन होस्।’
त्यसैगरी उनले प्रधानमन्त्रीको सम्पत्तिमाथि पनि समान रूपमा छानबिन हुनुपर्ने भन्दै सरकारसँग निष्पक्ष प्रक्रिया अघि बढाउन आग्रह गरे।
आङ्देम्बेले भ्रष्टाचार नियन्त्रणका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै कानुनको परिधिभन्दा बाहिर गएर छानबिन गर्न नहुनेमा समेत जोड दिए।


प्रतिक्रिया दिनुहोस्