प्रधानमन्त्रीलाई ‘गम्भीर काम गर्न’ कांग्रेस नेता आङ्देम्बेको आग्रह
काठमाडौंं, २२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई गहन र गम्भीर ढंगले काम गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको ध्यान सामाजिक सञ्जालभन्दा देशको शासन व्यवस्थामा केन्द्रित हुनुपर्ने बताए। उनले संसदलाई बेवास्ता गर्दै सामाजिक सञ्जालमा सन्देश लेख्ने प्रवृत्तिले संसदीय लोकतन्त्र कमजोर हुने टिप्पणी गरे।
आङ्देम्बेले भने, ‘प्रधानमन्त्रीजी संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?’
उनले लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई अब ‘भाइरल हुने बाटो’ त्याग्न सुझाव दिए।
उनले थपे, ‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गम्भीर र जिम्मेवार काम गर्न कठिन छ। त्यसैले अब भाइरल हुने बाटो त्यागेर सही ढंगले काम गर्नुपर्छ।’
आङ्देम्बेले प्रधानमन्त्रीको भूमिकालाई सडकमा एक्सप्रेस वेमा गाडी चलाउनेसँग तुलना गर्दै गलत निर्णयले देशलाई नै दुर्घटनामा पुर्याउन सक्ने चेतावनीसमेत दिए।
उनले विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री संसदमा उपस्थित हुने परम्परा रहे पनि वर्तमान प्रधानमन्त्री बैठकमा अनुपस्थित रहेको टिप्पणी गरे।












प्रतिक्रिया दिनुहोस्