सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख अर्यालको रूलिङ
काठमाडौंं, २२ असार । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक तथा शून्य समयमा उठाइएका जनसरोकारका गम्भीर विषयहरूमा सरकारलाई तत्काल जवाफ दिन सभामुखले निर्देशन दिएका हुन्।
सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे पनि संसदलाई जानकारी गराउन सरकारलाई निर्देश गरेका छन्।
उनले भने, ‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।’
सभामुखले मनसुनजन्य जोखिम नजिकिँदै गएको अवस्थामा सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी तथा भावी योजनाबारे संसदलाई नियमित रूपमा अवगत गराउनुपर्नेमा जोड दिएका छन्।
सांसदहरूले उठाउँदै आएका समसामयिक जनसरोकारका विषयमा सरकारको जवाफदेहिता सुनिश्चित गर्न सभामुखको यो निर्देशन महत्वपूर्ण मानिएको छ।












प्रतिक्रिया दिनुहोस्